काठमाडौं । गर्भवती भएपछि आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे जानकारीका लागि विभिन्न जाँच गरिन्छ ।
गर्भावस्थाको समयमा बच्चाको विकास सही तरिकाबाट भएको छ कि छैन् भन्ने कुराको मूल्यांकन गर्नका लागि चिकित्सकले समय–समयमा अल्ट्रासाउण्ड गर्न सिफारिस गर्छन् ।
तर केही कतिपयको मनमा अल्ट्रासाउण्ड गर्दा पेटमा भएको बच्चालाई केही असर गर्ने होकी भन्ने डर पैदा भएको पनि पाइन्छ । यसै सन्दर्भमा रहेर नेपाल इन्टरनेसनल हेल्थ सर्भिस (एनआइएचएस)का रेडियोलोजिष्ट विष्णु सिग्देलले गर्भवस्थामा अल्ट्रासाउण्डले पेटमा भएको बच्चा र आमालाई कुनै असर नगर्ने बताएका छन् ।
उनले भने,‘अल्ट्रासाउन्ड हामीले जति पटक पनि गर्न सक्छौँ । १०–१५ पटक पनि गर्न सक्छौँ । केही फरक पर्दैन । हाम्रो सोचाइ एक्सरे जस्तै अल्ट्रासाउण्डले पनि कतै रेडिएसन फाल्ने होकि अथवा पेटमा भएको बच्चालाई पनि केही असर गर्ने हो कि भन्ने कुराले डर पैदा भएको पाइन्छ । कति बिरामीमा त्यो डर मैले देखेको छु । अल्ट्रासाउण्ड जति पटक गर्दा पनि केही फरक पर्दैन ।’
उनले तीन पटकसम्म गर्न पाइने डब्लुएचओले पुष्टि गरिसकेको र नेपालमा चाहिँ पूर्वगर्भ अवस्थाभर चार पटकसम्म गर्ने गरिएको बताए । तर आवश्यकता अनुसार आमा र बच्च दुवैको अवस्था हेरेर जतिपटक पनि गर्न सकिने उनले स्पष्ट पारे ।
‘गर्भवस्थामा एक्सरे चाहिँ सकेसम्म नगरेको ठिक हुन्छ, गर्नुपनि हुँदैन । तर कहिलेकाहीँ यदि ज्यान खतरामा पर्यो भने ठुलो दुर्घटनामा पर्यो भने र हेर्ने पर्ने त्यस्तो अप्ठ्यारो अवस्था आयो भने मात्र गर्नु राम्रो हुन्छ,’उनले भने ।
तर पनि सकेसम्म पहिलो तीन महिना चाहिँ नगर्न र त्यसपछि आवश्यकता अनुसार आमाको ज्यान नै खतरामा भयो भने ज्यान बचाउन गर्न एवं नौ महिनासम्म एक्सरे नगर्दा नै उपयुक्त हुने उनको सुझाव छ ।