काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भयो । मंगलबार रातिदेखि नै परेको वर्षा बुधबार बिहानसम्म पनि लगातार परेपछि टस पनि हुन नसकेर खेल रद्द भएको हो । अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थिति रहेको थियो तर खेल हुन नसकेपछि दर्शकहरु निराश भएर फर्किए ।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजर्भ डे राखिएको छ । त्यसैले बुधबार खेल हुन नसक्ने अवस्थापछि दुवै टोलीले १-१ अंक बाँडेका हुन् । दुई खेलमा नेपाल एक अंकका साथ चौथो र तीन खेलमा एक अंक जोड्दै श्रीलङ्का अंक तालिकाको पुछारमा छ ।

नेपाल रहेको समूह डीबाट साउथ अफ्रिका सुपर– ८ मा प्रवेश गरेको छ । नेपाल र श्रीलंकाको खेल रद्द भएपछि साउथ अफ्रिका एक खेल अगावै माथि उक्लेको हो । साउथ अफ्रिकाले श्रीलङ्का, बंगलादेश र नेदरल्याण्डमाथि लगातार जित हासिल गरेको थियो ।

अब दोस्रो स्थानका लागि बंगलादेश, नेदरल्यान्डस्, श्रीलंका र नेपाल प्रतिस्पर्धामा छन् । दुई खेलमा एक जितसहित २ अंकसहित एक जित हासिल गरेका बंगलादेश र नेदरल्यान्डस् क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । अव सुपर – ८ मा बंगलादेश र नेदरल्यान्ड्समध्ये एक टोलीको सम्भावना बलियो देखिन्छ । श्रीलंकाको गणितीय सम्भावना बाँकी छ । तर त्यसको लागि अरू टीमको नतिजामा भर पर्नुपर्छ । साथै अरू टीमको खेलमा वर्षाको सम्भावनाको अनुमान पनि गर्नुपर्ने हुन्छ ।

नेपालको सम्भावना

नेपालको सम्भावना निकै कठिन छ । नेपालले अब दुई खेल खेल्न बाँकी छ । नेपालले दुवै खेल वेष्ट इन्डिजमा खेल्नेछ । नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने तालिका छ ।

नेपाललाई सुपर–८ पुग्न बाँकी खेल जित्नुको विकल्प छैन । उक्त जितले मात्र पुग्ने छैन । दुई खेल खेल्न बाँकी नेदरल्यान्ड्सले कम्तीमा एक खेल हार्नुपर्ने हुन्छ । नेदरल्यान्ड्सले दुवै खेल जितेमा वा नेपालले एक खेल हारेमा पनि नेपालको सुपर–८ मा पुग्ने सम्भावना सकिनेछ ।

यस्तै दुई खेल खेल्न बाँकी रहेको बंगलादेशले पनि एक खेल हार्नुपर्छ । बलिया राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशसँग जित निकाल्न नेपाललाई त्यति सहज भने छैन । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

सम्भावनाको अनुमान गर्दै गर्दा, नेपाली क्रिकेटले हासिल गरेको यो उचाईलाई हामीले सम्मान गर्नै पर्छ। बलिया टिम सङ्गपनि राम्रो प्रदर्शन गर्न लागेका नेपाली खेलाडीको मनोबल हामी सबैले उच्च राख्नु पर्छ। आउदै गरेका खेलहरुमा शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here