काठमाडौं। भारतीय महिला क्रिकेट टोलीले मुम्बईमा खेलिएको टेस्ट शृङ्खलाको एक मात्र खेलमा इंग्ल्याण्डलाई ३ सय ४७ रनको ठुलो अन्तरले पराजित गरेको छ । भारतले जितका लागि दिएको ४७८ रनको लक्ष्य पछ्याउँदा इंग्ल्याण्डको पूरा टिम १३१ रनमा आउट भएको हो ।महिला टेस्ट इतिहासमा भारतीय टोलीको यो सबैभन्दा ठुलो जित हो। भारतले पहिलो इनिङ्समा ४२८ रन बनाएको थियो भने दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो । इंग्ल्याण्डले पहिलो इनिङ्समा १३६ रन तथा दोस्रो इनिङ्समा १३१ रन बनायो ।
यस खेलमा नौ विकेट लिने दीप्ति शर्मा खेलको उत्कृष्ट खेलाडी घोषित भइन् । दोस्रो इनिङ्समा दीप्ति शर्माले ३२ रनमा चार विकेट लिइन् भने पूजा वस्त्रकारले तीन र राजेश्वरी गायकवाडले दुई विकेट लिइन्। पहिलो इनिङ्समा दिप्ती शर्माले पाँच र स्नेह रानाले दुई विकेट लिएकी थिइन् ।इंग्ल्यान्डका दुवै इनिङ्समध्ये पहिलो इनिङ्समा मात्रै खेलाडीले अर्धशतक बनाएका थिए । पहिलो इनिङ्समा नेट स्काइभर ब्रन्टले सर्वाधिक ५९ रन बनाइन् । भारतका लागि पहिलो इनिङ्समा चार खेलाडीले अर्धशतक बनाएका थिए । दोस्रो इनिङ्समा भारतका लागि हरमनप्रीत कौरले सर्वाधिक ४४ रन बनाइन् ।


























