काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्यालेष्टिनीमाथि इजरायली जनसंहारविरुद्ध प्रमुख सहरमा एक महिना हस्ताक्षर अभियान चलाउन निर्देशन दिएको छ । महासचिव देव गुरुङले पुस १ देखि एक महिनासम्म हस्ताक्षर अभियान चलाउन पार्टीका सबै जवस र मोर्चा सङ्गठनलाई निर्देशन दिएका हुन् ।

प्यालेष्टिनीमाथि इजरायली जनसंहार विरुद्ध संयुक्त अभियानको बैठकले रत्नपार्कस्थित शान्तिबाटिका हस्ताक्षर अभियान सुरु गर्ने निर्णय गरेको थियो । हस्ताक्षर अभियानमा पूर्वप्रधानमन्त्री एवं माओवादीका अध्यक्ष प्रचण्ड सहित, पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई लगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका थिए ।

यस कार्यक्रममा सत्ताधारी कांग्रेस, एमाले, जनमत पार्टी र विपक्षी रास्वपा र राप्रपाका नेताहरू सहभागी थिएनन् । सोही निर्णय कार्यान्वयन गर्नका लागि प्रदेश राजधानी लगायत देशका प्रमुख सहरमा हस्ताक्षर अभियान चलाउन महासचिव गुरुङले परिपत्र नै पठाएका छन् ।

‘उक्त अभियान प्रदेशका राजधानी लगायतका प्रमुख सहरहरूमा र पार्टीका सबै जवस/ मोर्चा संगठनहरूको कार्यालयमा पनि उक्त हस्ताक्षर अभियान पुष १ गतेदेखि १ महिनासम्म सञ्चालन गर्न निर्देशन गरिन्छ । यसै साथ हस्ताक्षर अभियानको ब्यानर र हस्ताक्षर फारमको नमुना पठाइएको छ । सोही अनुसार गर्नु गराउन हुन निर्देशन गरिन्छ’, परिपत्रमा उल्लेख छ ।

देशव्यापी अभियान चलाउनुको उद्देश्यबारे थप प्रस्ट पार्दै महासचिव गुरुङले भने–‘इजरायलले संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, मानव अधिकारको गम्भीर उल्लङ्घन गरेकाले इजरायलमाथि दबाब दिन हामीले हस्ताक्षर अभियान चलाएका हौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्दा समेत उनले प्यालेष्टाइनीमाथिको जनसंहार रोकेका छैनन् । शान्ति सेनालाई समेत प्रवेश रोक लगाएका छन् । नरसंहार विरुद्ध दबाब दिन नागरिक समाजको अगुवाइमा संयुक्त हस्ताक्षर चलाउन निर्देशन दिएको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here