काठमाडौं । विगत दुई सातादेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहोर उठाउन सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर उठाउन आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १४ बुँदा लेखेर सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारले आफूहरुसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि दुर्गन्ध फैलिएको छ ।
मेयर शाहले आफुलाई असहयोग गरेको भन्दै सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए । मेयरको उक्त निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले काठमाडौं महानगरपालिकासहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । आदेश प्राप्त भएको मितिले तीन दिनभित्र फोहोर उठाउन महानगरपालिकालाई सर्वोच्चले आदेश दिएको हो ।


























