काठमाडौं । सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो रकम यस आर्थिक वर्ष विनियोजन गरिएकोभन्दा दोब्बर हो ।
रासायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमै आपूर्ति सुनिश्चित गरिने अर्थमन्त्री महतले बताए । मल आपूर्तिलाई व्यवस्थित र पारदर्शी बनाइने पनि सरकारले घोषणा गरेको छ ।
सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ । सरकारले बजेटमा नै व्यवस्था गरेर गाँजा खेतीको औषधिजन्य प्रयोगको अध्ययन गर्ने भएको हो । गाँजा खेतीलाई वैधानिकता दिएर आम्दानीको स्रोत बनाउनुपर्ने माग उठिरहेका बेला सरकारले उक्त कार्यक्रमलाई बजेटमा नै समेटेको हो ।


























