काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले प्रदेशमा सरकार विहीनता जस्तो देखिएको बताएका छन् । शुक्रबार कोशी प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो भनेका हुन् । आङ्बोले बजेट कार्यान्वयनमा अलमल देखिएको भन्दै यो अन्यौलता चिर्नुपर्नेमा जोड दिए ।

मन्त्रालय बढाउने कदम अघि नबढाउन आग्रह गर्दै उनले राज्यमन्त्रीको लस्कर लगाउने काम पनि नगर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आग्रह गरे । आङ्बोले २०८४ सालको चुनावमा कांग्रेस र एमाले मिलेर चुनाव लड्न पनि आग्रह गरे । विशेष परिस्थितिमा मात्रै दुई ठुला दल मिलेर सरकार बनाउने चलनलाई तोड्दै गठबन्धन भएको उनले बताए । यद्यपि उक्त गठबन्धन गर्नुको औचित्य पुष्टि गर्नु पर्नेमा जोड दिए ।

उनले कांग्रसलाई कटाक्ष गर्दै विचित्रको अवस्था प्रदेश सभामा देखिएको बताए । ‘आजको मितिसम्म सरकारमा सहभागी पनि नभएको र सरकारलाई समर्थन पनि नगरी कांग्रेस सत्तापक्षमा बस्यो । यो विचित्रको अवस्था देखियो,’ उनले भने ।

प्रदेश सरकारले बजेट पुनरावलोकन गर्ने कुरा सार्वजनिक भएको भन्दै उनले यो ऐन, कानुन र संसदीय परम्परा विपरीत भएको बताए ।  सरकारले प्राथमिकता प्राप्त ठुला आयोजनाहरू निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले त्यस्ता आयोजना राजनीतिक सहमतिको आधारमा निर्माण गर्नुपर्ने बताए । 

प्रदेशले अब आफ्नै स्थायी संरचना बनाउनु पर्ने बताउँदै आङ्बोले ग्लोबल टेण्डर गरेर भएपनि काम अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले गिरिबन्धु टि–स्टेटको विषयमा कांग्रेस र एमालेबिच लागेको आरोप र प्रत्यारोपको विषयमा छानबिन हुनुपर्ने बताए ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here