काठमाडौँ । नेकपा एमालेका नेता तथा केन्द्रीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालकै कारण सुदूरपश्चिम सरकारले पूर्णता पाउन नसकेको टिप्पणी गरेका छन् । एकीकृत समाजवादीले एमालेका कारण सुदूरपश्चिम सरकारले पूर्णता नपाएको आरोप लगाउँदै आएका बेला भण्डारीले उल्टै समाजवादीका अध्यक्ष नेपालकै कारण पूर्णता पाउन नसकेको बताएका हुन् ।
प्रेस चौतारी कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले भने, ‘त्यो प्रवृत्ति लामो समय सम्म रहँदैन । छिट्टै त्यसको निरूपण हुन्छ । त्यही कारणले यहाँ सुदूरपश्चिम सरकारले पाउने पूर्णता त्यस्तै प्रवृत्तिले प्रश्नहरू जन्माइरहेका छन् ।’नेता भण्डारीले समाजवादी अध्यक्ष नेपालले नेपालले अहिले काङ्ग्रेससँग पनि छलफल गरिरहेको भन्दै दोहोरो भूमिका देखाइरहेको आरोप लगाए । उनले यस्तो दोहोरो भूमिकाले स्वयम् नेपाललाई नै क्षति पुग्ने चेतावनी दिए ।
‘सत्तामा बसिरहने प्रतिपक्षसँग छलफल पनि गर्ने दोहोरो भूमिकाले स्वयम उहाँलाई नै क्षति पुर्याइरहेको छ’, उनले भने, ‘उहाँको पार्टी, उहाँको विचार र उहाँका अस्थिरताले यो खालका सङ्कटहरू धेरै लामो रहँदैन । त्यसले चाँडै निकास पाउँछ । सत्तामा पनि रहिरहने प्रतिपक्षसँगको पनि सिरानी थापिराख्ने कुरो त्यो उहाँकै स्वास्थ्यको लागि हानिकारक छ । ’