काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीले मधेस प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । केन्द्रको निर्देशन अनुसार एकीकृत समाजवादीले मधेस सरकारबाट मंगलबार नै बाहिरिने तयारी गरेको हो । सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एकीकृत समाजवादी मधेस प्रदेश संसदीय दलको बैठक बोलाइएको छ ।

एकीकृत समाजवादीकी मन्त्री बेची लुङ्गेलीले केन्द्रबाट नयाँ समीकरण अनुसार सरकार बनाउने निर्देशन आएको बताइन् । सोही निर्देशन अनुसार पार्टीको संसदीय दलको बैठक बस्न लागेको उनले बताइन् । ‘सम्भवतः आजै प्रदेश सरकारबाट हामी बाहिरिने छौँ,’ उनले भनिन् । एकीकृत समाजवादीबाट मधेस सरकारमा २ जना मन्त्री सहभागी छन् । संसदीय दलका नेता गोविन्द न्यौपाने र बेची लुङ्गेली सरकारमा सहभागी छन् ।

यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले मधेस सरकारबाट बाहिरिएका थिए ।  यसैबिच मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् । नेपाली कांग्रेसले भने मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने जनाइएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here