काठमाडौं- माघे संक्रान्तिका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल किन्नेकाे भीड लागेकाे छ । काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो।काठमाडौं उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ। साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटका तरुल पनि काठमाडौंमा माघे संक्रान्तिका लागि बिक्री हुने गर्दछन्।
नेपाली किसानले धेरै थरीका तरुल खेती गर्दछन्। जसमध्ये घर तरुल, वन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल अहिले बजारमा बिक्रीका लागि राखिएको देख्न सकिन्छ । माघे सक्रान्तिमा तरुलसँगै पिँडालु, सखरखण्ड पनि खाइन्छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज तरुल ६० देखि ७० रुपैयाँ प्रतिकेजी, पिँडालु ७० देखि ८० रुपैयाँ प्रतिकेजी र सखरखण्ड ७० देखि ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ।