काठमाडौँ – जुम्लाका नन्दराज उपाध्याय लोकतन्त्रलाई न्याय चाहियो भन्दै माइतीघरमा धर्नामा बस्दै आएका छन् । पूर्ण लोकतन्त्रको आधुनिक मान्यतामा लोकतन्त्र रक्षाका लागि निर्वाचन प्रणालीका मुख्य सुधारात्मक प्रक्रियाहरू अगाडि बढाउनुपर्ने माग गर्दै उनी ७ फागुन २०७९ बाट माइतीघरमा धर्ना थालेका हुन् ।
उनले मुख्यतः चार वटा विषय अगाडि सारेका छन् । जसमा प्राइमरी इलेक्सन, राइट टु रिजेक्ट, राइट टु रिकल र विदेशमा भएका नेपाली नागरिकलाई मतदाताको अधिकार कार्यान्वयनमा ल्याउनुपर्ने उनको माग छ ।
विदेशमा रहेका नेपालीले पठाएको नोटले नै देश चल्ने तर, उनीहरूलाई भोटको अधिकारबाट वञ्चित गराइएको उनको भनाई छ । सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्न राज्य असक्षम रहेको भन्दै उनले भने, ‘यी माग पुरा नहुँदासम्म मेरो आन्दोलन जारी रहन्छ ।’
उनले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूलाई खाम पत्र पनि तयार पारेका छन् । सबै सांसदहरूलाई धर्ना स्थलमा आएर आफ्नो खाम पत्र बुझिदिनु उनले अनुरोध गरेका छन् । त्यस्तै पार्टीका अध्यक्ष र संसदीय दलका नेताहरूलाई विशेष ज्ञापन पत्र समेत तयार पारेका छन् । अहिलेसम्म कसैले पनि बुझेर नलगेको उनको भनाई छ ।