विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । सत्ता गठबन्धन भित्र भागबण्डाको मोडालिटी तयार नभएसम्म हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको हो ।
गठबन्धनभित्र सत्ता समीकरणको मोडालिटी तयार गरेपछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भएको छ । ९३ सदस्यीय प्रदेशसभामा दुवै पक्षसँग स्पष्ट बहुमत छैन । नेकपा एमाले र राप्रपा एक ठाउँमा छन् । दुई दलको सिट संख्या ४६ छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा रहेको चार दलीय गठबन्धनमा पनि सिट संख्या ४६ छ ।
सत्ता गठबन्धनमा कोशी प्रदेशको नेतृत्वका लागि चार सिट रहेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि दाबी गरेको छ । गठबन्धनबीच भागबन्डा हुँदा कोशी प्रदेश नेकपा एकीकृत समाजवादीले पाउने सम्भावना छ ।