काठमाडौँ । केलिएन एम्बाप्पेले गरेको एकमात्र गोल निर्णायक हुँदा पेरिस सेन्ट जर्मेइन (पिएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा रेनेस विरुद्ध पिएसजीले गरेको एकमात्र गोल फाइनल पुग्न पर्याप्त बनेको थियो। अब फाइनलमा पिएसजीले लियोनको सामना गर्ने छ। खेलमा एम्बाप्पेले ४० औं मिनेटमा टिमका लागि गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि थप गोल हुन नसक्दा पिएसजीले रेनेसलाई १-० ले पराजित गरेकाे हाे।
पिएसजीले ३७ औं मिनेटमै अग्रताको अवसर पाएको थियो। पिएसजीले पेनाल्टीको उक्त मौकालाई सुदुपयोग गर्न सकेन। एम्बाप्पेले गरेको प्रहार रेनेसका गोलरक्षक स्टिभ मन्डन्डाले जोगाएका थिए। त्यसअघि १३ औं मिनेटमा एम्बाप्पेको प्रहार बारमा लागेको थियो। पिएसजी स्टार एम्बाप्पे यो पटक पिएसजीबाट अन्तिम खेल खेलिरहेका छन्। एम्बाप्पेले आगामी सिजनबाट रियल म्याड्रिडबाट खेल्ने जनाइएको छ। उनले रियलसँग सम्झौता गरिसकेको जनाइएको छ।
यो पटक पिएसजीसँग १४ औं फ्रेन्च कप जित्ने मौका रहँदा ट्रेबल जित्ने बाटोसमेत खुल्ला रहेको छ। फ्रेन्च कप, लिग वान र च्याम्पियन्स लिग जित्ने अभियानमा पिएसजी अघि बढिरहेको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पिएसजी बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ।