काठमाडौ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल भ्रमणमा रहेको चीनको तिब्बत स्वायत्त क्षेत्रको संसदीय प्रतिनिधि मण्डलसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
चीनको तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसका स्थायी समिति उपनिर्देशक तथा जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईको नेतृत्वमा आएको चिनियाँ संसदीय प्रतिनिधि मण्डलसँग उपसभामुख रानाले मंगलबार सिंहदरबारमा भेटवार्ता गरेकी हुन् । भेटमा उपसभामुख रानाले नेपाल चीन सम्बन्ध निकै पुरानो र घनिष्ठ भएको चर्चा गर्दै दुई पक्षीय भेटवार्ता र भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।
त्यसक्रममा उनले नेपालको फलफूल, जडीबुटी लगायत कृषि उत्पादनहरु अर्गानिक र उत्कृष्ट हुने भन्दै नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म बिस्तार गर्न सके दुवै देशलाई फाइदा हुने बताइन् ।