काठमाडौं । वकिल हुँ भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले जाजरकोट छेडागाड नगरपालिका १२ बस्ने ४९ वर्षीय मानबहादुर सिंहलाई कानुन व्यवसायी हुँ भन्दै अर्काको लाइसेन्स नं. दुरुपयोग गरी लाखौं ठगी गरेको आरोपमा पक्राउ गरेको हो । उनले आफूलाई भरतबिक्रम, भक्तबहादुर र भरतबहादुर सिंह भनेर चिनाउने गरेका छन् ।
बैकिङ कसूर मुद्दामा थुनामा रहेका मानिसलाई छुटाई दिने र मुद्दा मिलादिने बहानामा सर्वोच्च अदालतमा पुनरावेदन गर्छु भनी विभिन्न माध्यमबाट पटक–पटक गरी ३१ लाख रकम लिई ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सिंहउपर ठगी सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनको साथबाट विभिन्न व्यक्तिका नाममा काटिएका चेकहरु, विभिन्न व्यक्तिका नागरिकता प्रमाणपत्र, भिसाकार्डलगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ। साथै, ती व्यक्तिबाट ठगिएका अन्य पीडितहरु भए जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्पर्क गर्न पनि प्रहरीको आग्रह छ ।