जुम्ला । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको हो ।
यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको बताइएको छ । अन्य सामान्य घाइते भएका छन् । दुई जना सकुशल रहेको खबर प्राप्त भएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।
यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले अगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् । बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो ।