काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकमा विकास तथा समृद्धि कायम गर्नुपर्ने बताएका छन्।शहीद दिवसका अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै उनले लोकतान्त्रिक पद्धतिबाट जनताको स्वतन्त्रता, सामाजिक न्याय र समानता कायम गर्दै विद्यमान विसंगतिहरूको अन्त्य गर्न सकिने बताए।

लोकतन्त्रको विशेषताका रूपमा रहेको समतामूलक र न्यायमूलक समाज स्थापना गरी समाजवादको कार्यभार पूरा गर्न सकिने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले देशमा निरंकुशताको अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि शहीदले जीवनको उत्सर्ग गरेको उल्लेख गरेका छन्।उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि शहीदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्न आर्थिक तथा सामाजिक रूपान्तरणका माध्यमबाट सबै जनतालाई सुखी र समृद्ध बनाउनुपर्नेमा जोड दिए।

मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने जनाउँदै समाजमा विधमान वर्गीय शोषण, सबै प्रकारका विभेदको अन्त्य गरी जनताको आर्थिक रूपान्तरण गर्न पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोण तथा आदर्शलाई स्थापित गर्न आवश्यक रहेकाे उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here