काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयकी विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएकोमा असन्तुष्टि पोखेका छन् ।
विश्वविद्यालयमा घटना घटिसकेपछि संसद्मा बोल्ने समय माग गर्दा समेत सभामुख घिमिरेले समय नदिएकोमा बुधबार रातोपाटीसँग शर्माले असन्तुष्टि पोखेका हुन् ।
‘केआईआईटी विश्वविद्यालयमा घटना घटेपछि संसद्मा बोल्न माग गर्दा समेत सभामुखले समय नदिनुबाट हाम्रो लोकतन्त्र कस्तो रहेको मात्र नभई संसद्को नेतृत्व संवेदनहीनता समेत स्पष्ट गरेको छ । संसद्मा जनताका मुद्दाभन्दा कुर्सी र सरकारका मुद्दा मात्र उठाउँदै आएको हामीले भनिराखेका छौँ’, असन्तुष्टि पोख्दै उनले भने ।
केआईआईटीमा घटेको घटनाले नेपाली विद्यार्थीको आवाजलाई दबाएको मात्र नभई नेपाल र नेपाली विद्यार्थीको अपमान समेत गरेको उनले बताए । पूर्वगृहमन्त्री समेत रहेका शर्माले लम्सालको रहस्यमय मृत्युको पीडा एकातिर रहेको बेला अर्कोतिर विद्यार्थीलाई विश्वविद्यालयबाट निष्कासन गरिनु आपत्तिजनक मात्र नभई अमानवीय समेत रहेको टिप्पणी गरे । घटना सम्बन्धमा शीघ्र पहल हुन नसक्नु, कूटनैतिक रूपले समस्या समाधान गर्न ढिलाइ गर्नु सरकारको असफलता भएको उनको निष्कर्ष छ । साथै केआईआईटी विश्वविद्यालयमा दिने शिक्षा र संस्कार कस्तो रहेछ भन्ने विषयमा आफ्नो अनुहार स्पष्ट पारेको शर्माले बताए ।
घटनासम्बन्धमा शर्मा भन्छन्, ‘प्रकृति लम्सालको रहस्यमय ढंगले मृत्यु भएको पीडा एकातिर छ । अर्कोतिर विद्यार्थीलाई विश्वविद्यालयबाट निष्कासन गरियो । यो घटना आपत्तिजनक मात्र नभई अमानवीय समेत रहेको छ । सरकारको शीघ्र पहल हुन नसक्नु, कूटनैतिक रूपले समस्या समाधान गर्न ढिलाइ गर्नु सरकारको असफलता हो ।’
यसको दीर्घकालीन समाधानका लागि नेपाललाई एक गुणस्तरीय शैक्षिक हब बनाउनुपर्नेमा उनले जोड दिए । त्यसै गरी देशभित्रै रोजगारी सिर्जना गर्न आफ्ना स्रोत र साधनमा आधारित उत्पादनतिर जोड र आजको काम गर्ने ढर्रा, संयन्त्र, सोच र नीति बदलेर आर्थिक क्षेत्रको पुनर्संरचना गर्न ढिलाइ भएकोमा शर्माले चिन्ता व्यक्त गरे


























