पर्वत । नेपालका विभिन्न १३ परियोजनामा सहयोग गर्न रुसले चासो देखाएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले वैशाख ६ देखि ११ गतेसम्म गरेकोे रुस भ्रमणका क्रममा रुसले विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको अध्यक्ष तिमिल्सनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले बताए ।

शर्माका अनुसार अध्यक्ष तिमिल्सनाको भेटवार्ताका क्रममा उठेका १३ वटा विभिन्न परियोजनामा चासो राख्दै रुसले नेपालसँग विस्तृत परियोजना प्रस्ताव माग गरेको हो । रुसले विद्युतीय रेलवे, राजमार्ग, बालबालिका क्यान्सर अस्पताल निर्माण देखि नेपाली विद्यार्थीलाई मस्कोमा अध्ययनका लागि छात्रवृत्ति कोटा बढाउने सम्मका परियोजनामा सहयोग गर्ने इच्छा व्यक्त गरेको हो ।

तिमिल्सिनाको रुस भ्रमणका क्रममा रुसको उपल्लो सदन फेडरल एसेम्बलीका अध्यक्ष भ्यालेन्टिना मात्भिएन्को, रुसी तल्लो सदन डुमाका अध्यक्ष भ्याचेस्लाभ भोलोदिन र रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोकाबीच भएको भएको छलफलमा विभिन्न परियोजना अघि बढाउने विषय उठेका थिए। नेपाल स्थित रुसी दूतावासले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई गत वैशाख २१ मा पत्र लेख्दै नेपाल सरकारबाट विस्तृत परियोजना प्रस्ताव अघि बढाउन आग्रह गरेको छ ।

रुसले पूर्व–पश्चिम बिद्युतीय रेलमार्ग र काठमाण्डौमा मस्को रेलवेसँग मिल्दोजुल्दो रेलवे निर्माण गर्न तथा नेपालको मुख्य पर्यटकीय स्थल पोखरादेखि नजिकका पर्यटकीय स्थललाई जोड्ने पोखरा–रिडी सडक निर्माणका लागि परियोजना प्रस्ताव मागेको छ। पोखरादेखि पर्वत हुँदै गुल्मी पुग्ने पोखरा–रिडी सडकको लागत झन्डै चार अर्ब रहेको छ। अध्यक्ष तिमिल्सनाको प्रस्ताव अनुसार यो सडक रुसले आफ्नै लगानीमा निर्माण गर्न इच्छा देखाएको छ। यो सडक पोखराको पामेबाट पर्वतका छ वटा स्थानीय तह हुँदै गुल्मीको रिडी सम्म पुग्ने दोहोरो साइकल लेनसहित निर्माण गरिने छ।

यसैगरी काठमाडौं र पोखरामा बालबालिकाको क्यान्सर सम्बन्धी उपचार गर्ने अस्पताल निर्माण गर्न पनि रुसले चासो देखाएको छ। उक्त अस्पतालमा प्रारम्भिक चरणमा रुसी डाक्टर उपलब्ध गराउने र सोसम्बन्धी अनुभव नेपाली विशेषज्ञलाई हस्तान्तरण गर्ने प्रस्ताव रुसले गरेको छ। अहिले नेपालबाट वार्षिक १८ विद्यार्थीलाई रुसले छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा चिकित्सा र इन्जिनियरिङ विषय अध्ययनका लागि वार्षिक १५० देखि २०० विद्यार्थीलाई छात्रवृत्ति कोटा उपलब्ध गराउन खोजेको छ।

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सना र रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोबीच भएको छलफलमा नेपालमा जीटुजी मार्फत् रासायनिक मल र गहुँ निर्यात गर्न रुसले चासो देखाएको थियो। रुसले रासायनिक मल र गहुँ बाहेक पेट्रोलियम पदार्थ पनि प्रत्यक्ष रूपमा उपलब्ध गराउने प्रस्ताव मागेको छ। यस्तै नेपालसँग मस्कोबाट सिधा हवाइ उडान गर्ने, नेपालको हिमाली तथा पहाडी क्षेत्रमा उपयुक्त हुने रुसी हेलिकप्टर बिक्री गर्ने तथा नेपालका पहाडी क्षेत्रका लागि उपयुक्त हुने सवारी साधन बिक्री गर्न पनि चासो राखेको छ। अध्यक्ष तिमिल्सिनाको निम्तो स्वीकार गर्दै रुसको उपल्लो सदन र तल्लो सदनका प्रमुखले छिटै नेपालको भ्रमण गर्न प्रस्ताव पनि पठाएका छन्।

रुसी प्रस्तावबारे अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा। प्रकाशशरण महत, कृषिमन्त्री डा। बेदुराम भुसाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, शिक्षामन्त्री अशोक राई, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुलाई समेत परियोजना कार्यान्वयन गर्नका लागि प्रस्ताव तयार गर्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here