काठमाडौं । शुक्रबार नेपालले ओमानविरुद्ध आफ्नो ५०औं एकदिवसीय अन्तराष्ट्रिय ओडिआई खेल खेल्ने भएको छ । एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबार किर्तिपुरको टियु मैदानमा हुने ओमानविरुद्धको खेल नेपालको ५० औं ओडिआई खेल हुने भएको हो ।
घरेलु मैदानमा आयोजना भईरहेको एसीसी प्रिमियर कपमा एकै समूहमा रहेका नेपाल र ओमान ओडिआई मान्यता प्राप्त देश हुन् । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९औं ओडिआई खेलेको छ । नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग पहिलो ओडिआई खेलेको थियो । ४९ ओडिआई खेल्दा नेपालले २६ मा जित, २१ मा हार, एक मा टाई र एक खेलमा नतिजा बिहीन छ ।
नेपालले हालसम्म ७ वटा देशसँग ओडिआई खेलेको छ । ४९ मध्ये आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ३६ खेल खेलेको थियो । बाँकी १२ खेल सिरिजको रुपमा र एक खेल प्रतियोगितामा खेलेको थियो ।