काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन् । शुक्रवारबाट काठमाडौंमा शुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताए । प्रधानमन्त्री दाहालले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्न खाले समस्याहरु परिरहेको भन्दै त्यसलाई न्युनीकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताए ।
उनले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गरे । उनले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यक्ता देखिएकोले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए । उनले सरकारले आयुर्वेदलाई संरक्षण र संवद्र्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको बताए । उनले भारतले पनि नेपाललाई आयुर्वेदका औषधिहरु पाइने मुख्य थलोको रुपमा राखेको उल्लेख गर्दै नेपालका वनस्पतिहरुको संरक्षण संवद्र्धन गर्न जरुरी रहेको बताए । उनले नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताए ।