काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एकसय ८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ८० रन बनाएको हो ।
फाइनलमा पुग्ने आशा कायम राख्न जित्नै पर्ने दबाबमा रहेको नेपालका लागि कुशल मल्लले अर्धशतकीय पाली खेले । उनले अविजित ५५ रनको योगदान गरे ।
आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ३७ बलको सामना गरी चार छक्का र एक चौका हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा अर्धशतक पुरा गरेका थिए ।
१९ वर्षीय कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रियमा एउटा शतक पनि बनाएका छन् ।
कुशल मल्लाका अतिरिक्त नेपालका लागि आरिफ शेखले पनि ३१ रनको योगदान गरे । गुलसन झाले पनि २६ रन बनाए ।
ओपनर अनिल साहले २३ रन बटुले । दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन जोडे । नेपालले अतिरिक्त रुपमा पनि आठ रन पायो । नामिबियाका बलर बेन सिकोंगोले तीन विकेट लिए ।
ज्याक ब्रासेलले पनि दुई विकेट हात पारे । रुबेन ट्रम्पलम्यान, जन निकोल लफ्टी एटन र बेनार्ड स्कोल्जले एक–एक विकेट लिए ।
नेपालले आफ्नो पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी दुई बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
आसिफलाई नामिबियाका बलर बेन सिकोंगोले बोल्ड गरेका थिए । दोस्रो ओभरको पहिलो बलमा आसिफ आउट हुँदा नेपालले केवल पाँच रन बनाएको थियो ।
नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनी नौ बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
उनलाई नामिबियाका बलर ज्याक ब्रासेलले कप्तान जोहोनेश जोनाथन स्मितद्वारा क्याच गराएका थिए । ३।४ ओभरमा रोहित आउट हुँदा नेपालले ३० रन बनाएको थियो ।
नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अनिल साहलाई गुमाएको थियो । उनी १७ बलमा तीन चौकाको मद्दतले २३ रन बनाउँदै आउट भएका थिए ।
अनिललाई नामिबियाका बलर जन निकोल लफ्टी एटनले विकेटकिपर जेन ग्रिनद्वारा क्याच गराएका थिए । सातौँ ओभरमा अन्तिम बलमा अनिल आउट हुँदा नेपालले ५८ रन बनाएको थियो ।
नेपालले चौथो विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका गुलसन १६ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले एलबीडब्लूको धरापमा पारेका थिए । ७।२ ओभरमा उनी आउट हुँदा नेपालले ६४ रन बनाएको थियो ।