काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने ‘रोमिङ’ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसको अवसर पारेर बुधबारदेखि रोमिङ महसुल घटाएको टेलिकमले जनाएको छ ।

गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीले रोमिङ महसुल घटाउन माग गरेका थिए। भ्रमणपछि मन्त्री शर्माले नेपाल टेलिकमलाई रोमिङ महसुल घटाउन निर्देशन दिएकी थिइन् । नयाँ दरअनुसार नेपाल टेलिकमको सिमबाट भारतकै कुनै नम्बरमा फोन गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ ।

यसअघि रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस २४ रुपैयाँ लाग्ने गरेको थियो । त्यस्तै थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट थाइल्याण्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा अब प्रतिमिनेट ५० रुपैयाँ लाग्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here