काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालगन्ज एकीकृत जाँच चौकीको निर्माण सम्पन्न गर्न पहल गरेको छ । जाँच चौकीमा पानी ट्याङ्की, सीसीटीभी जडान, नेटवर्किङ, फायर फाइटिङलगायतका काम बाँकी छन् । र, यी काम सक्न एक महिनाको समय लाग्ने देखिएको छ ।समितिबाट जाँच चौकीको निर्माण सम्पन्न गर्न सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । उक्त जाँच चौकी हस्तान्तरणको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भारतीय दूतावासमा अनुरोध समेत गरिएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।जाँच चौकी समितिलाई हस्तान्तरण भएपछि तुरुन्त सञ्चालन गर्न सक्ने गरी तयारी गरिएको उनको भनाइ छ । समितिबाट सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको हुँदा हस्तान्तरण भएपछि सञ्चालन सुरु गर्न कुनै समस्या नहुने गजुरेलको भनाई छ ।नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने लक्ष्यसहित एकीकृत जाँचचौकी निर्माणको योजना अघि सारेको थियो । सोहीअनुसार नेपाल र भारत सरकारबिच सन् २००५ मा भएको समझदारीअनुरूप वीरगन्ज र विराटनगरमा एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।नेपालगन्ज एकीकृत जाँच चौकीको निर्माण २०७७ साल असोज २६ गते सुरु भएको थियो । ४४.३६ हेक्टर क्षेत्रफलमा फैलिएको यस एकीकृत जाँच चौकीको निर्माणको काम अन्तिम चरणमा रहेको बताइएको छ ।


























