काठमाडौँ। भारतको बहुराष्ट्रिय कम्पनी रिलायन्सले सुरु गरेको चर्चित पेय ब्रान्ड क्याम्पा कोला (Campa Cola) आधिकारिक रूपमा नेपाली बजारमा भित्रीएको छ। नेपालमा यसको आधिकारिक वितरक चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी CG Brewery रहेको छ।

यो सँगै अब क्याम्पा कोलाले नेपाली बजारमा पेप्सी, कोकाकोला, फ्यान्टा, स्प्राइट, ड्यु लगायतका ठूला ब्रान्डहरूसँग सिधा प्रतिस्पर्धा गर्नेछ।

कस्तो छ क्याम्पा कोला ?

भारतमा सन् १९७० दशकदेखि परिचित ‘क्याम्पा कोला’ ब्रान्ड लामो समय हराएको थियो। तर, रिलायन्स ग्रुप अन्तर्गत मुकेश अम्बानीले सन् २०२२ मा यसलाई पुनः बजारमा ल्याए। भारतमा पुनः आगमनसँगै यसले स्वदेशी स्वाद बोकेको ब्रान्डको रूपमा पुनः लोकप्रियता बटुलिरहेको छ।

नेपालमा चौधरी ग्रुपले रिलायन्स ग्रुपसँगको सहकार्यमा भित्राएको ‘क्याम्पा कोला’ले सुरुवातमा क्याम्पाकोला ओर्जिनल, क्याम्पाकोला लेमन र क्याम्पाकोला ओरेन्जगरी तीन भेरिएन्ट ल्याएको छ।
यससँगै न्युनतम मुल्यमा ‘क्याम्पा कोला’ नेपाली बजारमा उपलब्ध हुनेछ। सिजिले पहिलो चरणमा काठमाडौं उपत्यका, तराईका प्रमुख शहरहरू र पर्यटकिय क्षेत्रहरूमा वितरण सञ्जाल विस्तार गर्दैछ। कम्पनीका अनुसार, क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक प्रारम्भिक रूपमा उपलब्ध हुनेछन् ।
२ सय ५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक (सीएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज) को उपभोक्ता मूल्य ३० रुपैयाँ छ भने क्याम्पा २ सय ५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य ४० रुपैयाँ तोकिएको छ । रिफ्रेसिङ स्वाद, जोशिलो प्रस्तुति र आकर्षक प्याकेजिङ साथ क्याम्पा कोलाले नेपाली बजारमा नयाँ तरंग ल्याउने देखिन्छ ।

नेपालमा कोल्ड ड्रिङ्स बजारको आकार वार्षिक १५ अर्ब रुपैयाँभन्दा बढी छ। यो बजारमा कोका-कोला, पेप्सी, ड्यु, स्लाइस, फ्यन्टा, मिरिन्डा, सेभेनअप आदि ब्रान्डको बोलबाला छ। त्यही कारण क्याम्पा कोलाको प्रवेशले बजारमा नयाँ प्रतिस्पर्धा र मूल्य प्रतिस्पर्धा निम्त्याउने विश्लेषकहरूको बुझाइ छ।

नेपाली बजारमा क्याम्पा कोलाको प्रवेशले स्थानिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई सचेत बनाउने देखिन्छ। बजारमा क्याम्पाकोलाको आगमनसँगै उपभोक्ताले विकल्प र प्रतिस्पर्धी मूल्यमा फाइदा पाउने देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here