भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्केट जात्रा आज साँझबाट सुरु हुने छ । सोमबार साँझ टौमढीस्थित पाँच तले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै आजबाट सुरु हुन लागेको हो ।
नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ । जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ । सो रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पुर्याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहँदै आएको छ ।
यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु देवता तल सवारी हुने भनिन्छ । स्थानीय भाषामा बिस्का भनिने यो जात्रा जिब्रो छेड्ने जात्राको रूपमा पनि यो चर्चित छ । जात्राको ऐतिहासिक पक्षका सवालमा भने थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइन्छ । इतिहासकारहरु भने भने ‘बि’ को अर्थ भएको र पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष आगमनको प्रतीक बिस्का भएको बताउँछन् ।
स्थानीले रथको अगाडि पछाडि डोरी तानातान गरेर आआफ्नो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोलमा जहाँ लैजान सकिन्छ, त्यो टोल विजयी भएको मानिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो । सो रथलाई स्थानीय गःहिटी टोलमा पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन हुने परम्परा छ । लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते पनि भैरवनाथको नै रथ तानेर समापन गरिने प्रचलन रहेको छ ।