काठमाडाैँ- नक्कली रक्सी बनाएको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका रक्सीका नाममा नक्कली रक्सी बजारमा पठाउने गरेको गुनासा र गोप्य सूचनाका आधारमा अनुसन्धान गरि पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। कार्यालयका डिएसपी अनिल घिमिरेको नेतृत्वमा यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।मंगलबार प्रहरीले काठमाडौंको मनोहरा नगरपालिका ५ थलीस्थित भरत थापाको घरमा डेरा गरी बस्ने विनोदकुमार कार्कीको कोठाबाट नक्कली रक्सी बनाउने सामग्री बरामद गरेको थियो।

नक्कली रक्सी बनाउन संलग्न रहेको आरोपमा प्रहरीले रामेछापका २८ वर्षीय मनोज खत्री, रामेछापकै ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्कालाई पक्राउ गरेको छ।साथै काठमाडौं कागेश्वरी मनोहराका ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका २८ वर्षीय गौरव तामाङ,सिन्धुलीका ४० वर्षीय लेखविक्रम थापा, रामेछापका २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोकका १८ वर्षीय रोशन कार्की, रापेछापका २० वर्षीय मनिष खत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि खुकुरी रम, डबल ब्ल्याक, ब्ल्याक लेभल, गोल्डेन ओकलगायत ब्राण्डका रक्सीको नक्कली बनाएको आरोप छ।थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको उपरीक्षक रेग्मीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here