काठमाडौँ । चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि आन्दोलनरत अभियन्ता डा.गोविन्द केसी घोराही पुगेका छन् ।उनी बिहीबार बेलुका घोराही पुगेका हुन् । गेटा मेडिकल कलेजलाई अघि बढाउन केही दिनअघि आफ्नो अनसनका कार्यक्रम सकेर डा. केसी त्यहाँ पुगेका हुन् ।उनले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत अवलोकन गरेका छन् । प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने माग उनले विगतदेखी नै राख्दै आएका थिए । ग्रामीण क्षेत्रमा पनि मेडिकल कलेज सरकारी स्तरबाट स्थापना गरेर न्युन खर्चमा पनि डाक्टर पढ्न पाउनुपर्ने उनको माग रहदै आएको छ ।
प्रतिष्ठानका विभिन्न वार्डहरू, यहाँको अवस्था, विएनएस तथा विएस्सी नर्सिङसहीत एमडी एमएसको पढाइको वारेमा पनि डा. केसीलाई प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेले जानकारी गराएका हुन् । अवलोकनपछि डा.केसीले प्रतिष्ठानको सेवा सुधार भएकोमा खुसी ब्यक्त गर्दै शैक्षिक कार्यक्रम पनि अघि बढाउन सफल भएकोमा प्रतिष्ठानको नेतृत्वलाई बधाईसहित धन्यवाद दिए ।उनले छिट्टै एमविविएसको पढाई पनि प्रतिष्ठानले सुरु गर्ने विश्वास ब्यक्त गरे । प्रतिष्ठानका उपकुलपति डा. लामिछानेले एमविविएसको पढाईका लागि निरन्तर लागि परेको भन्दै सबैको सामुहिक पहलवाट नै केही शैक्षिक उपलब्धिहरु हासिल गर्न सफल भएको बताए ।उनले एमविविएस पढाइका लागी पनि पुर्वाधारमा जोड दिइएको बताए ।


























