काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नबिल बैंकको नाफा घटेको छ । बैंकले बिहीबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा तीन अर्ब २० करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा तीन अर्ब ४१ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकको नाफा ६.२८ प्रतिशतले घटेको हो ।
बैंकको खुद ब्याज आम्दानी र खुद फी तथा कमीसन आम्दानीमा वृद्धि भएको छ । यस्तै सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन (इम्पेरीमेन्ट चार्ज) मा पनि सामान्य मात्रै वृद्धि हुँदा पनि बैंकको नाफामा घटेको छ । बैंकको सञ्चालन खर्चमा उल्लेख्य वृद्धि हुँदा नाफा प्रभावित भएको हो ।गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सात अर्ब ८३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।चालु आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाखमा पुगेको छ ।यस्तै खुद फि तथा कमीसन आम्दानी एक अर्ब २८ करोड २८ लाखबाट एक अर्ब ४८ करोड ४४ लाख पुगेको छ ।नाफा घटेको बैंकले एक अर्ब ४ करोड ९० लाख रुपैयाँ बयाज उठाउन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा ९६ करोड ९५ लाख वितरणयोगय मुनाफा आर्जन गरेकोमा गत आवको मुनाफाबाट लाभांश वितरणपछिकेा सञ्चित नाफासहित एक अर्ब ८ करोड ७९ लाख रुपैयाँ वितरणयोग्य मुनापा रहेको छ ।चालु आर्थिक वर्षमा बैंकको निक्षेप र कर्जा दुवैमा सुधार भएको छ । असार मसान्तमा तीन खर्ब ९६ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा बढेर चार खर्ब २८ अर्ब ८३ करोड ५ लाख पुगेको छ ।यस्तै बैंकको कर्जा तीन खर्ब ३१ अर्ब १२ करोड ३१ लाख रुपैयाँबाट तीन खर्ब ६२ अर्ब ८७ करोड ६० लाख रुपैयाँ पुगेको छ ।