परासी । नेपाल प्रहरीका केन्द्रीय र क्षेत्रिय नेतृत्व कमजोर भएर हो कि सबै तिर सेटिङ भएर हो अहिले तराईका जिल्लामा नेपाल प्रहरीका घुमुवाहरूको असुली आतंकले सीमा नाघेको छ । चौकी देखि इप्रका, जिल्ला हुदै प्रदेश प्रमुखसम्मले घुमुवा परिचालन गरेका र ती घुमुवाहरूको असुलीले सीमा नाघेको छ । यसको एउटा उदाहरण पश्चिम नवलपरासीमा देखिएको छ ।
हिजो बिहीबार बिहान ९ बजेको समयमा परासी १० वडामा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएका घुमुवाहरू सहायक हवल्दारद्वय प्रदिप गुप्ता र किरण कुंवरले तस्करी गरि ल्याएको मोटरपार्टसको सामान बरामद गरे । उक्त सामान रूपन्देही घर भएका राकेश भन्नेको थियो र क्यारिङ गर्ने व्यक्ति नवलपुरका रामनरेश थिए । मोटरसाइकलमा तस्करी सामान सहित पक्राउ परेका रामनरेशलाई घुमुवाहरूले छोडिदिए । सामान मात्रै लिएर गए । मोटरसाइकल सहित पक्राउ परेका व्यक्तिलाई किन छाडियो, कति रकम लिएर छाडियो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ नै। यो छानबिनको बिषय हुन्छ कि हुदैन ? त्यतिमात्र गरेनन घुमुवाहरूले बरामद भएको सामान समेत बिहीबार राति सम्म पनि भन्सार बुझाएनन मात्रै होइन जिल्ला प्रहरी कार्यालयमा सामान पक्राउ गरेको रिपोर्टिङ समेत गरेनन् । राती सम्म पनि बरामद भएको सामान भन्सार नबुझाएको र जिल्ला प्रहरीमा समेत रिपोर्टिङ नगरेको जानकारी पाएपछि सामान मालिक राकेशले बिहीबार राति सवा ९ बजेतिर जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी काजी कुमार आचार्यलाई फोन गरेर जानकारी गराएको समेत जिल्ला प्रहरीका एक सईले जानकारी दिए ।त्यसपछि मात्रै एसपी आचार्यले सोधखोज गरेपछि थाहा भयो कि घुमुवा प्रहरीले बरामद सामान बेच्ने उद्देश्यले अन्यत्र लुकाएको र जिल्ला प्रहरीमा रिपोर्टिङ समेत नगरेको खुल्न आएको ती सईले बताए । राति ११ बजे मात्रै बल्ल उक्त बरामद भएको मोटरपार्ट जिल्ला प्रहरी कार्यालयमा लगेका थिए । यो प्रकरणले घुमुवा प्रहरीहरूको बदमासी त उजागर भएको छ नै, घुमुवा राखेर असुली गर्ने कार्य पनि सतहमा आएको छ ।


प्रहरी मुख्यालय र महानिरीक्षक बसन्त बहादुर कुंवरले बारम्बार दिएको निर्देशन बिपरित पहिले गुल्मी र अहिले कपिलवस्तु दरबन्दी भएका सहायक हवल्दार प्रदिप गुप्तालाई दरबन्दीमा नपठाएर जिल्ला प्रहरी कार्यालयको घुमुवा बनाएर तस्करी गराउने र तस्करहरूसंग रकम उठाउने काममा लगाइएको छ । त्यसैगरी कपिलवस्तुमा कार्यरत रहंदा लागूऔषध काण्डमा परेर कारबाही भई नवलपरासी लखेटिएका अर्का सहायक हवल्दार किरण कुंवरलाई पनि जिल्ला प्रहरीले घुमुवाको रूपमा जिल्ला भर खटाएको छ । अहिले पश्चिम नवलपरासीमा यिनै घुमुवाको सेटिङमा खुलेयाम ठूलो मात्रामा तस्करी चलिरहेको छ । बिहीबार राति मात्रै भुजहवाको गणेशपुरबाट ७ वटा पिकअपमा खसिबोका र ३ वटा पिकअपमा माछाको तस्करी भएको छ । राति १० बजेदेखि ३ बजेको समयमा यो नाकाबाट तस्करी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here