काठमाडाैं । पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबलका खेल आजदेखि सुरु हुँदैछ ।
३३ औँ गृष्मकालीन ओलम्पिकको उद्घाटन जुलाई २६ अर्थात आगामी शुक्रबार हुने भए पनि फुटबल लगायतका केही खेल त्यसअघि सुरु हुनेछन् । बुधबारदेखि फुटबल र रग्बी सेभेन्सका खेल सुरु हुनेछन् । बिहीबार आर्चरी र ह्यान्डबलको प्रतिस्पर्धा सुरु हुनेछ ।
पुरुष फुटबल अन्तर्गत पहिलो खेल अर्जेन्टिना र मोरक्कोबीच प्रतिस्प्रर्धा हुनेछ । समूह बी मा रहेका यी दुई टोलीबीचको खेल सेन्ट एटिएनमा नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ । यस्तै समूह बी मै रहेका इराक र युक्रेनबीचको खेल बुधबार लियोनमा हुनेछ ।
समूह ए अन्तर्गत आयोजक फ्रान्सले बुधबार आफ्नो पहिलो खेलमा अमेरिकासँग खेल्नेछ ।
यसैगरी समूह सी अन्तर्गत उज्वेकिस्तान र स्पेन तथा इजिप्ट र डोमिनिक रिपब्लिक तथा समूह डी अन्तर्गत जापान र पाराग्वे तथा मालि र इजरायलबीचको खेल बुधबार सुरु हुनेछ ।
महिला फुटबलका खेल बिहीबारदेखि सुरु हुनेछन् । पेरिस ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टोली मात्र सहभागी छन् । पुरुषतर्फ चार समूह र महिलातर्फ तीन समूहमा विभाजन गरेर खेलाइनेछ ।