काठमाडौँ । गृह मन्त्रालयले प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव एवम् कर्मचारी महाशाखा प्रमुख झक्कुप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । उपप्रधान एवम् गृहमन्त्रीस्तरीय निर्णयअनुसार कार्यदल गठन गरिएको गृहमन्त्रालय श्रोतले जनाएको छ ।
कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डीआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव रहेका छन् ।
समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरू समेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको जनाइएको छ ।