काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोबीच शिष्टाचार भेटवार्ता भएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा राष्ट्रपति पौडेल र महानिर्देशक हुंग्बोबीच आज भेटवार्ता भएको हो ।

राष्ट्रपति पौडेलले महानिर्देशक हुंग्बोलाई सम्मेलनको मुख्य वक्ताका रूपमा आमन्त्रण गरेकोमा आभार प्रकट गर्दै अन्तर्राष्ट्रिय श्रम संगठनले मर्यादित काम तथा श्रमको अधिकार सुनिश्चित गर्ने तथा सामाजिक संवाद र सामाजिक संरक्षणका क्षेत्रमा गरेको कार्यको प्रशंसा गरेका थिए ।

उनले आप्रवासी कामदारको न्यूनतम तलब, सामाजिक सुरक्षासहित उनीहरूको सुविधा सुनिश्चित गर्न र श्रम गन्तव्य भएका मुलुकलाई जिम्मेवार बनाउन आईएलओले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

राष्ट्रपति पौडेलले नेपालले उत्पादकत्व र श्रमिकको जीवनस्तर सुधार गर्न कानुनी मानक, मापदण्डको नीति तय गरेको जानकारी दिए । उनले श्रमिक परीक्षण प्रणाली सुरु गरेको र यसले उद्योग तथा श्रमिक दुवैलाई कानुन पालना गराउन सहज हुने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here