काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अवस्था डरलाग्दोरुपमा धराशायी हुने तर्फ गइरहेको तर सत्तासीन दलहरु यसतर्फ उदासीन भएको आरोप लगाएका छन् । केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले गम्भीर रुपमा बहस छलफल हुनुपर्ने विषयमा भन्दा सत्ता केन्द्रित फोहरी खेलमा मात्र दलहरु लिप्त हुनु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आवश्यक नभएको उनको जिकिर छ । थापाले भने, ‘मुलुकलाई विदेशीले ऋण पनि नपत्याउने स्थिति छ । तलब भत्ता खान ऋण लिनुपर्ने भयो ,यस्तो अवस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुँदैन । खारेज गर्नुपर्छ ।’ मुलुकमा सबै क्षेत्रमा बेथिति र विसङ्गति हाबी भएको भन्दै थापाले सस्तो लोकप्रियता र ताली भन्दा यथार्थमा गएर मुलुकको चुनौती समाधान गर्न सबै राष्ट्रवादी प्रजातान्त्रिक र हिन्दु बादी शक्ति एक हुनुपर्नेमा थापाले जोड दिए ।

राप्रपा नेपालले अङ्गीकार गरेको वैचारिक रोडम्यापले मात्र मुलुकको स्वाधीनता,लोकतन्त्र र आर्थिक समृद्धि हुने भएकोले तल्लो तहमा जान नेता कार्यकर्तामा आग्रह गरे । पार्टीलाई स्थापित गर्न धैर्यता, मेहनत र सक्रियताको आवश्यकता भएकोले उच्च मनोबल सहित सङ्गठन केन्द्रित हुनुपर्नेमा थापाले जोड दिए । बैठकमा महामन्त्री त्रय भास्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले सचिवालय , प्रशिक्षण र सङ्गठन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए भने । जिल्ला अध्यक्षहरूले जिल्लाको बस्तुस्थितको बारेमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here