काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबिच भेटवार्ता भएको छ। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो। भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा समेत दुबै देश एक ठाउँ उभिन आवश्यक रहेकोमा जोड दिए ।

भेटमा प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकोमा जोड दिँदै त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । भेटवार्तामा श्रीलंकाका राष्ट्रपति डा.सिङ्घेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलंकाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रूपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल लगायत परराष्ट्र मन्त्रालयका अधिकारीहरू उपस्थित रहेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here