काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारका लागि दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन समय सिमा तोक्केका छन् । प्रधानमन्त्री प्रचण्डले दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउने समय सिमा तोक्केका हुन् ।
स्रोतका अनुसार दलहरुको नामावली आएपछि दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह हुने जानकारी समेत गराएका छन् । प्रधानमन्त्री प्रचण्ड बिहीबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा थिए । तर मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । नेताहरुका अनुसार अर्थ, गृह, रक्षा र सञ्चार मन्त्रालय कसले लिने भन्ने विवाद छैन । अर्थ र रक्षा कांग्रेसले र गृह र सञ्चार माओवादी केन्द्रले लिने भएका छन् ।
मिल्न बाँकी मन्त्रालयहरुको सन्दर्भमा आफैं मिलाउने भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका छन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार दलहरुसँग सामूहिक र एक्लाएक्लै संवादमा छन् ।