काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई जितका लागि दुई सय ४६ रनको लक्ष्य दिएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ३७.३ ओभरमा अलआउट हुनुअघि दुई सय ४५ रन बनाएको हो ।खराब मौसमका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल ३८–३८ ओभरमा झारिएको हो ।

जारी प्रतियोगितामा पुलिस क्लबले आठौँ र लुम्बिनी प्रदेशले नवौँ खेल खेलिरहेको हो ।विभागीय टोली पुलिस क्लब प्रतियोगिताको फाइनलमा पुग्ने निश्चित भइसकेको छ । यसको विपरित लुम्बिनी प्रदेश भने यसअघि नै उपाधि होडबाट बाहिरिने निश्चित भइसकेको छ ।पुलिसका लागि कप्तान आरिफ शेख, कुशल भुर्तेल र करण केसीले उत्कृष्ट ब्याटिङ गरे । पाँचौँ नम्बरका ब्याट्सम्यान आरिफले ७६ रन बनाए । उनले ७६ बलमा तीन छक्का र नौ चौका हिर्काए । ओपनर ब्याट्सम्यान कुशलले टोलीको खातामा ४८ रन थपे । उनले ४२ बलको सामना गरी एक छक्का र सात चौका हिर्काए । तल्लो क्रमका ब्याट्सम्यान करणले अर्धशतकीय पाली खेले ।आठौँ नम्बरमा क्रिज समाल्न आएका करणले ५७ रन बनाए । निकै आक्रामक रुपमा प्रस्तुत भएका करणले केवल २७ बलको सामना गरी पाँच छक्का र पाँच चौका पनि हिर्काएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान अर्जुन साउदले पनि २४ रन जोडे । विकेटकिपर ब्याट्सम्यान अर्जुनले पेभेलियन फर्किनुअघि १८ बलमा पाँच चौका प्रहार गरे । ओपनर दिलिप नाथ दुई रनमै आउट भए । रासिद खानले टोलीको खातामा १२ रन थपे । प्रेम तामाङ पाँच रन बनाउँदै आउट भए । रोशन बुढालले १० रन बनाए । ललित राजवंशी दुई रनमा अविजित रहे । पुलिसले नौ अतिरिक्त रन पायो ।लुम्बिनी प्रदेशका बलर नर सार्की एक्लैले चार विकेट लिए । उनले आठ ओभरमा ७७ रन खर्चिए । बीर मगरले पनि तीन विकेट हात पारे । कृष्ण कार्की र अभिषेक गौतमले एक–एक विकेट लिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here