विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार स्वीच थिचेर रलवे र कार्गो रेल उद्घाटन गरेका हुन् ।
विराटनगरको एकीकृत भन्सार जाँच चौकी आईसीपीसम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउनेछ । भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षण भएको थियो। उद्घाटनअघि बुधबार पनि परीक्षण गरिएको थियो ।
भारततर्फ पाँच र नेपालतर्फ १३ गरी रेलवेको लम्बाई १८।१ किलोमिटर छ। नेपालतर्फ रेलवे परियोजनाका लागि ११९।८ विघा जग्गा अधिग्रहण गर्नुपर्नेछ। जसमध्ये २१ विघा जग्गा अधिग्रहण २०७० सालदेखि रोकिएको छ ।