काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको गाडी चालकको उपचारको क्रममा निधन भएको छ । चितवनस्थित घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुर थापाको मंगलबार दिउँसो साढे एक बजे निधन भएको हो ।
आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन् । वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु भनिने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो ।
उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।