काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मयुरको प्वाँख टाँसेको कौवा भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको जिकिर गरेका हुन् ।
उनले भने, रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो । यो कुरा भन्न हामी हिच्किचाउन हुन्न । चितवन–२ का जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन् । त्यहाँ नेकपा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ । रविजी त्यसलाई पछ्याउनु हुन्छ ।’ उनले रवि लामिछाने १० वैशाखमा हुने उपनिर्वाचनमा पराजित हुने दाबी गरेका छन् । लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन–२ का जनताले निर्वाचनमा हराउने नेता बस्नेतको जिकिर थियो ।
नेता महेश बस्नेतले काठमाडौं महानगरका मेयर बालेन शाहको विरोध गर्नुपर्ने जरुरी नरहेको बताएका छन् । बालेनले सिंहदरबारमा भएका अनियमितता र भ्रष्टाचारविरुद्ध विद्रोह गरेको उल्लेख गर्दै उनले त्यसमा आफ्नो समर्थन रहेको जनाए ।
 
            
 
	
