काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठकले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको विषयमा कुनै निर्णय नलिएको प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री महतले भ्रातृ संगठन र विभाग गठनको विषयमा केन्द्रित रहेर छलफल भएको बताका हुन् ।
उनले खाँण पक्राउ पर्नु र पार्टीको बैठक बस्नु संयोगमात्रै भएको बताएका छन् । प्रवक्ता महतले बैठकमा त्यसबारे सामान्य छलफल भए पनि पार्टीमा निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा कुनै छलफल नभएको बताए । उनले भने, ‘टोपबहादुर रायमाझी त पूर्जी काटिएपछि फरार हुनुभयो । बालकृष्णजी त्यसरी भाग्नुभएको छैन । आफैले अनुसन्धानमा सहयोग गर्नुभएको छ । अनुसन्धान परिपक्व होस, अनि पार्टीले निर्णय गर्छ ।’
‘हाम्रो बैठक आकस्मिक होइन । हामी पार्टीका भ्रातृ संगठनका विषयमा छलफल गर्न पहिल्यै बैठक बस्ने तयारी थियौँ । यद्यपि बैठकमा उहाँ पक्राउ पर्नुभएको विषयमा छलफल भयो । यो विषयमा हाम्रो भनाइ यत्ति हो कि उहाँमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ । यो मुद्दामा जो पनि दोषी छन् दोषीलाई कारबाही र निर्दोषलाई न्याय मिल्नुपर्छ’ उनले भने ।