काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइको माग गरेको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गंगाराम चौधरीले पार्टीका संरक्षक रेशमको रिहाइ नहुनुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक धारणा माग गरेका हुन्।
उनले यसअघि भएको सहमति अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई रिहा गर्ने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
प्रधानमन्त्रीले माघीमा रेशम चौधरीलाई रिहाइ गरेर उपहार दिने आश्वासन दिएको भन्दै अहिलेसम्म रिहाइ नगरेकोमा आक्रोश व्यक्त गरे। उनले भने,’प्रधानमन्त्रीज्यूले माघीसम्म रिहाइ गरेर उपहार दिने बताउनु भएको थियो। माघी आउनै लाग्यो। पटक पटक जानकारी गराउँदा पनि केही बोल्नु भएको छैन।’
उनले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि माग गरे। उनले माग पूरा नभए संसद अवरूद्ध गर्ने चेतावनी समेत दिए।