काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले ललितपुरमा स्वास्थ्य विमा, स्वास्थ्यकर्मीहरुको थप दरबन्दी र नख्खु–भैंसेपाटी सडक खण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? भनि सरकारलाई प्रश्न गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा. कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ सरकारले नदिएको उल्लेख गर्दै यस्तो प्रश्न गरेकी हुन् ।
उनले भनिन्, ‘संसदमा आइपुग्न अर्बौं खर्च हुन्छ । एक दिनको संसदीय बैठकमा लाखौं खर्च हुन्छ । हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन् । प्रतिनिधिसभा नियामावली २०७९ को नियम १५ को उपनियम २ मा स्पस्ट व्यवस्था छ । सात दिनभित्र सम्बन्धित् मन्त्रीले जवाफ दिनुपर्छ । तर, खै ललितपुरमा स्वास्थ्य बिमा कहिले आउँछ ? नख्खु भैंसेपाटी सडक कहिले निर्माण हुन्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ ? सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायि बनाउन आवश्यक छ । सदनमा उठेका प्रश्नहरुलाई सदनको व्यवसाइटमा राख्ने र साथै ति प्रश्नहरुको अवस्था के छन् ? भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था मिलाउ माग गर्छु ।’
सांसद डा. कार्कीले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि बताइन् । सदनमा उठाएका प्रश्नहरुको अवस्थाबारे आमनागरिकले हेर्न मिल्ने गरी वेबसाइटमा राख्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण समेत गराएकी छन् ।