काठमाडौैँ । आगामी दशैंमा प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक गरिएको छ । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई सन्तोष सेनले निर्देशन गर्दैछन् । चलचित्र छायांकनमा जानुपूर्व नै ‘बलिदान फस्ट ल्याण्डिङ’ भन्दै १ मिनेट १४ सेकेण्डको टिजर ओएसआर डिजिटल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । चलचित्रको कलाकार र प्राविधिक टिम फाइनल हुन बाँकी नै छ ।
टिजरमा चित्रित दृश्यले ‘बलिदान’ एक युगजनिन विसङ्गगति र विकृतिलाई छिचोल्दै विस्तारित आयाम र लार्ज स्केलमा बन्ने एक्सनप्रधान चलचित्र हो भन्ने दर्शाएको छ । त्यहाँ देखाएका विस्फोट, नरसंहार, तोडफोड तथा त्रसित वातावरणले देशमा हुने उथलपुथल तथा रक्तपातपूर्ण क्रान्तिको विम्ब झल्काउँछ ।चलचित्रमा खुम्चिएका र राज्यबाट किनारा पारिएका वर्गले अधिकारको लडाइँ गर्दा देशीविदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातचुत पार्छ्न् भन्ने कुरालाई चित्रण गर्दै सधैं यस्तो भएर अति भएपछि देशको अस्मिता जोगाउन युगले एक असली युगपुरुष जन्माउँछ भन्ने विषयवस्तुलाई देखाइने निर्देशन सेनले बताएका छन् । गाडीमाथि प्रकट भएर हतियार गाडेको एक सांकेतिक पात्र देखाइ त्यसलाई नै युग पुरुषका रूपमा अवतरण गराएको र अब त्यसले नै कुटिलहरुको बलि दिनेछ भन्ने आशय व्यक्त गरिएको सेनको भनाई छ ।
लेखकलाई पनि उध्दृत गर्दै सेनले थपे, ‘यसको विषयवस्तु पूर्वीय र पाश्चात्य दुबैतिरका ज्ञानविज्ञानको समन्वयमा आधारित हुनाले पनि यसको ऐतिहासिक महत्त्व छ । हामीले राज्यको मूलधारबाट निमुखा मानिस कसरी किनारामा पारिएको हुन्छ या पर्छ भन्ने कुरा पश्चिमी सल्वाटर्न स्टडीका कोणबाट अध्ययन गर्यौं र देशीविदेशी कुटिलहरू प्रवेश गरेर समाज च्यातचुत हुन थालेपछि सत्य स्थापनाका लागि हर युगमा एक युगपुरुषको अवतरण कसरी हुन्छ भन्ने कुरा पूर्वीय अवतारजन्मको मिथकीय कोणबाट अध्ययन गर्यौं । यसरी एक सम्पूर्ण आख्यानको निर्माण गरेका हौं ।’
सफल चलचित्र ‘प्रेमगीत’ सिरिजका श्रेष्ठ चलचित्र दिएका र नेपाली सिनेमाको अन्तरास्ट्रिय प्रदशनको ऐतिहासिक सुरुवात गरेका निर्माता तथा निर्देशक सन्तोष सेनले यो चलचित्र निर्देशन गर्नेछन् भने पवन विष्ट निर्मातामा रहेका छन् । चलचित्रलाई प्राध्यापक एवम् लेखक दर्शन जी ले लेखेका छन् । कार्यकारी निर्मातामा चक्रबहादुर चन्द र प्रेम पुरी रहेका छन् ।


























