काठमाडौं । सरकार र धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनबीच ७ बुँदे सहमति भएको छ। आविष्कारसम्बन्धी कार्य गर्न सरकारले कोष बनाउने र उक्त कोषबाट अनुसन्धान, विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्नेलगायत सहमति भएको छ। उपप्रधान, रक्षा तथा कानुन मन्त्री पूर्णबहादुर खड्का र महावीर पुनबीच सोमबार रक्षा मन्त्रालयमा भएको वार्तामा ७ बुँदे सहमति भएको हो ।
आविष्कारसम्बन्धी कार्य गर्ने कोषको व्यवस्थापनका लागि संसदबाट विधेयक पारित गर्ने सहमति पनि भएको छ। विधेयकको मस्यौदा सरोकारवाला पक्षसँगको परामर्शमा आगामी ६० दिनभित्र तयार गर्ने समझदारी बनेको छ ।
सरकार र पुनबीच सहमति भएसँगै शुक्रबारदेखिको जारी आन्दोलन स्थगित भएको छ । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा लगानी नबढाएको, आविष्कारको क्षेत्रमा देशलाई अघि बढाउन कानुन बनाउने कुरामा सांसद्हरुले समेत बेवास्ता गरेको भन्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा बसेका थिए ।