काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेलहरु हुने भएको छ । लिगको १३ औं चरण अन्तर्गत आज हुने अन्तिम चार खेलहरुमा दुई खेल दशरथ रंगशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको बाँकी खेल दिउँसो १ बजे शुरु हुनेछ । संकटा क्लब र जावलाखेलबीचको खेल शनिबार भारी वर्षा र चट्याङको कारण स्थगित भएको थियो। दुई टोलीबीचको खेल ५१ औं मिनेटमा स्थगित भएको थियो। संकटाविरुद्ध जावलाखेल १–० ले अघि रहेको छ । संकटा आज पाँचौं जितको खोजीमा हुँदा जावलाखेल आठौं जित निकाल्न चाहन्छ। सोही खेल मैदानमा दिउँसो साढे ३ बजे चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र मनाङ मस्र्याङदीबीचको खेल हिजै रंगशालामा हुने तय भएपनि भारी वर्षा र चट्याङका कारण खेल स्थगित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे ४ बजे हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुने एन्फाले जनाएको छ। हिजो दुई टोली बीचको खेल मौसमका कारण ७१ औं मिनेटमा रोकिएको थियो । हिमालयन र आर्मी १–१ गोलको बराबरीमा रहेका छन्। हिमालयन आज चौंथो र आर्मी छैठौं जितको योजनामा हुनेछ ।

दशरथ रंगशालामै साँझ ६ बजे साविक विजेता मछिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेलमा १७ अंक जोडेर सातौं स्थानमा रहेको मछिन्द्र पाँचौं जित निकाल्ने योजनामा हुनेछ। सातदोबाटो सातौं जितको खोजीमा हुनेछ। सातदोबाटो १२ खेलमा २१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here