दमस्कस । सिरियाको हामा सहरमा क्रिसमस ट्रि जलाएको घटनालाई लिएर विरोध प्रदर्शन सुरु भएको छ । मास्क लगाएका बन्दुकधारीले क्रिश्चियनहरूको बाहुल्यता रहेको क्षेत्रमा राखिएको क्रिसमस ट्रि जलाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो । यो घटना सार्वजनिक भएपछि अल्पसङ्ख्यक धर्मको समर्थनमा विरोध प्रदर्शन सुरु भएको हो ।
आगजनीमा विदेशी लडाकुहरू संलग्न रहेको र उनीहरूलाई पक्रिएको र क्रिसमस ट्रिको मर्मत गरिएको अधिकारीहरूले बताएका थिए । क्रिसमस नजिकिँदै गर्दा भएको यस घटनाको विरोधमा नयाँ इस्लामिक शासकले अल्पसङ्ख्यक धर्मको सुरक्षा गर्नु पर्ने माग राख्दै देशभरका सडकहरूमा हजारौँ मानिस उत्रिएका छन् ।
दुई हप्ता अघि मात्रै हयात ताहरिर अल–शाम (एचटीएस)नेतृत्वको इस्लामिक लडाकु समूहले राष्ट्रपति बशर अल–असद पतन गराएका थिए । यतिबेला सिरियामा एचटीएसको नेतृत्व छ ।
यो समूहले सिरियामा कसरी शासन गर्छ त्यो चाहिँ हेर्न बाँकी नै छ । विगतमा समूह जिहादवादी थियो । यो समूहले सबै सिरियालीका लागि उपर्युक्त हुने गरी सिरियाको निर्माण गर्ने भनिरहेको छ । शुक्रबार मात्रे अमेरिकाले एचटीएसका अगुवा अहमद अल–शराको टाउकोमाथि राखिएको १ करोड डलरको पुरस्कार हटाएको थियो ।