काठमाडौं । नेकपा एमालेले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ र तनहुँ १ मा उपनिर्वाचनको उम्मेदवार टुंगो लगाएको हो ।
बैठकले बारा २ का लागि भने उम्मेदवार टुंग्याउने निर्णय नगरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन् । उनले भने,’बारा २ को राजनीतिक अवस्था अत्यन्तै तरल भएकोले थप छलफल गरेर आइतबार उम्मेदवार टुंग्याइने छ ।’ बारा २ मा आइतबार मात्र टुंगो लाग्ने भएको छ । एमालेले सो क्षेत्रमा अन्य पार्टीका प्रभावशाली नेतालाई प्रवेश गराएर टिकट दिने प्रयास समेत भइरहेकाले आज निर्णय नभएको हो ।
चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो । उनी अनेरास्ववियुको राजनीतिमा स्थापित भएका जिल्लाका लोकप्रिय युवा नेता हुन् । तनहुँ १ मा उम्मेदवार बन्न लागेका खनालको नाममा शनिवार बिहानै जिल्लाबाट आएका नेताहरूले बालकोट पुगेर सहमति जनाएका थिए ।