काठमाडौँ- चाबहिल स्थित टेक्सस इन्टरनेसनल सेकेन्डरी स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ । सोमबार जमलस्थित राष्ट्रिय नाचघरको हलमा आयोजित एक भव्य कार्यक्रमका बिच स्कुलले अभिभावक दिवस मनाएको हो । एउटा विद्यालयलाई सफल बनाउनका लागि अभिभावकहरूको अहम् भूमिका हुने हुँदा त्यसलाई व्यक्त गर्नका लागि अभिभावकहरू प्रति समर्पित गर्दै दिवस मनाइएको विद्यालय प्रशासनले जनाएको छ।
टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्कका ‘चिफ अफ एकेडेमिक्स’ प्रा. डा. गोविन्द प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न औपचारिक सत्रको कार्यक्रममा प्रसिद्ध आध्यात्मिक चिन्तक तथा आध्यात्मिक गुरु एल.पि. भानु शर्माको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा टेक्सस एजुकेसन नेटवर्क र टेक्सस स्कुलको विभिन्न जिम्मेवारीमा रहेका व्यक्तित्वहरू सहित विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै टेक्सस इन्टरनेसनल स्कुलका ‘स्कुल कोअर्डिनेटर’ लेख राज घिमिरेले गुणस्तर र व्यवहारिक शिक्षा नै विद्यालयको परिचय भएको उल्लेख गरे। आजको प्रतिस्पर्धात्मक विश्व बजारमा सजिलै बिक्न सक्ने जनशक्ति उत्पादन टेक्ससले गर्दै आएको उनको भनाई थियो। कागजी प्रमाणपत्र सबैले दिने भए पनि आफ्नो विद्यालयले बालबालिकालाई सिप पनि प्रदान गर्ने उनले दाबी गरे। अभिभावकको निरन्तर साथ र सहयोगकै कारण विद्यालय आफ्नो उद्देश्यमा सफल हुन् सकेको भन्दै उनले निरन्तर यो साथ र सहयोग रहिरहने अपेक्षा गरे।
आफ्ना अभिभावकहरूलाई राष्ट्रिय नाचघर, जमल पुर्याएर आफ्नो गुणस्तरको असली पहिचान देखाउन टेक्सस इन्टरनेसनल स्कुल सफल भएको छ। सयौँ अभिभावकहरू बिच विद्यालयले गरेको कार्यक्रमको सुरुवातले त्यसको प्रमाण दिएको हो। संस्कार सहितको शिक्षालाई आफ्नो मूल मन्त्र बनाउँदै आएको विद्यालयले स्वस्ति वाचन बाट कार्यक्रम सुरु गरेको थियो। त्यसलगत्तै सुरु भएको स्वागत नृत्यले अझै विशेष आकर्षण कार्यक्रममा छोड्न सफल रह्यो। आध्यात्मिकता र रास्ट्रभावले भरिएको उक्त नृत्यमा बालबालिकाहरू विभिन्न जातजाति, भाषा संस्कृतिको प्रतिनिधित्व गर्ने भेसभुसामा प्रस्तुत भएका थिए भने समसामयिक नेपाली समाजमा विद्यमान सामाजिक समस्याहरूलाई उनीहरूले मञ्चमा प्रस्तुत गरेका थिए। देशको सिमाना मिचिएको, रोजगारीको अभाव, वैदेशिक रोजगारीले निम्त्याएका समस्या लगायत समेटेर उपयुक्त सन्देश सहित उनीहरूले दिएको प्रस्तुतिले जो कोहीको आङ सिरिङ्ग हुन्थ्यो। स्वागत नृत्यमै प्रस्तुत गरिएको मयुर नाचले पनि सबैको ध्यान खिच्न सफल भयो।
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्कका सिइओ भेस राज पोखरेलले विद्यालयले ‘फर अ कम्प्लिट ह्युमन बिङ’ अर्थात् पूर्ण मानव बनाउनका लागि भन्ने अनुसारकै प्रगतिशील शिक्षा दिँदै आएको उल्लेख गरे। रुसो, जोन डिवे जस्ता दार्शनिकहरूको नाम लिँदै उनले अबको समय प्रयोगात्मक रूपमा गरेर सिक्ने समय भएको र आफूहरूले शिक्षण सिकाइको त्यही पद्धति अवलम्बन गरेको उल्लेख गरे। आफ्ना छोराछोरी पनि टेक्सस स्कुलमै अध्ययन गर्ने गरेको भन्दै उनले हरेक दिन हुने अतिरिक्त क्रियाकलापले बालबालिकालाई उनीहरूको क्षमता विकास गर्ने मौका दिएको बताए। आफूहरू विद्यार्थीलाई कक्षाकोठाको पर्खाल भन्दा बाहिर लगेर विविध गतिविधिमा सामेल गराउँदै सर्वपक्षीय विकास गर्नका लागि सक्रिय रहेको उनको भनाइ थियो। उनले बालबालिकाहरू विद्यालयको पनि जिम्मेवारी भएकाले उनीहरूको भविष्य निर्माणका लागि सबै मिलेर सहकारी गर्न अपिल गरे।
विद्यालयका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले नैतिक,आध्यात्मिक र संस्कारयुक्त शिक्षा टेक्ससले प्रदान गर्दै आएको बताए। मन्टेश्वरी देखि मास्टर्स सम्म पढाई हुने पूर्व मेची देखि पश्चिम महाकाली सम्म प्रसिद्ध शैक्षिक संस्थाका रूपमा आफूहरू रहेको उनको भनाई थियो । एउटै नेटवर्कमा यति धेरै कार्यक्रम सञ्चालन गर्ने थोरै संस्थाहरू मध्य एक संस्था आफूहरू भएको उनको दाबी थियो। टेक्ससले आफ्ना विद्यार्थीहरूलाई आध्यात्मिक रूपमा सचेत, स्मार्ट र सीपयुक्त बनाउने उनको भनाइ थियो। विद्यालयले प्रत्येक दिन किताब पढे जस्तै अतिरिक्त क्रियाकलाप पनि सँगै संलग्न गर्ने गरेको उनले बताए । आजको मानिसले भौतिक रूपमा जति प्रगति गरेपनी अध्यात्म बिर्सिसकेको हुँदा कस्तुरीले आफ्नै सुगन्ध नचिनेर खोजेजस्तो आधुनिक मानिसको हालत भएको भन्दै उनले बालबालिकालाई अनिवार्य ध्यान/योग सँग विद्यार्थीलाई जोड्न उनले अनुरोध गरे। विद्यालय सँग निरन्तर सम्पर्कमा रहेर बालबालिकाको भविष्य निर्माणको अभियानमा सरिक हुन् पनि उनले आग्रह गरे।
कार्यक्रममा बोल्ने अन्य सबै वक्ताहरूले टेक्ससले दिँदै आएको गुणस्तरीय र व्यवहारिक शिक्षाको चर्चा गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि एल.पि. भानु शर्माले सनातन धर्म, योग, ध्यान र संस्कृतको महत्त्वको चर्चा गरे। उनले सरस्वती वन्दनाको अर्थ लगाउँदै यसको वैज्ञानिक र आधुनिक प्रयोग बारे पनि व्याख्या गरे। बालबालिकाहरूको प्रस्तुतिको खुलेर तारिफ गरेका उनले संस्कृत पढाएको भन्दै विद्यालयलाई धन्यवाद दिए। सँगै उनले विद्यार्थी, अभिभावक, परिवार, शिक्षक आदिले पालना गर्नुपर्ने कर्तव्य बारे पनि टिप्पणी गरे।
कार्यक्रम अवधिभर विद्यार्थीहरूले विभिन्न रोचक प्रस्तुतिहरू दिएका थिए।