काठमाडौं । संवैधानिक परिषद्को बैठक सोमबार बस्दैछ। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साँझ ६ बजेका लागि बैठक बोलाएका हुन्।
परिषद्को बैठक बोलाउने विषयमा शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र विपक्षी दलका नेता केपी ओलीबीच सहमति भएको थियो ।सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल गर्ने बताइएको छ। यसअघि वैशाख ६ गते बसेको परिषद्को बैठकमा छलफल भए पनि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेको थिएन।
सर्वोच्च अदालत केही महिनादेखि नै कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको छ। यसका कारण संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने दबाब छ । परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।


























